गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा छिर्न मर्यादापालकले रोके

गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा छिर्न मर्यादापालकले रोके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न मर्यादापालकले रोकेका छन् । बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोकेका हुन् ।

सांसद देवकोटाले आफूलाई मर्यादापालकले प्रदेशसभाभित्र छिर्न नदिएको जानकारी दिए । ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु,’ देवकोटाले भने ।

माओवादी केन्द्रले गत जेठ ३१ गते कारबाही गरेको पत्र सभामुख कृष्ण प्रसाद धितालले सभामा पढेर सुनाएपछि उनी सांसद पदबाट निलम्बनमा परेका थिए । त्यो कारबाहीविरुद्ध सर्वोच्च अदालतमा पुगेका कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन्।

गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देउकोटालाई मुख्यमन्त्री पाण्डेले त्यसको भोलिपल्ट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका थिए ।

गएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए।