काठमाण्डु – चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका बाँकेको डुडुवा गाउँपालिका–६ शिखनपरुवाका सरमानसिंह सरदारलाई पक्राउ गर्न गोली चलाएको छ । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।
स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ ।
बिहीबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले सरदारलाई पक्राउ गरेको थियो । त्यसपछि स्थानीयले सरदारलाई प्रहरीबाट खोसेर फिर्ता ल्याएपछि आधा घण्टा लगाएर ९ बजे उनलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
पुनः नियन्त्रणमा लिने क्रममा भएको झडपमा प्रहरीले गोली चलाएको हो । गोली लागेर एक प्रहरीसहित तीन जना घाइते भएका छन् । डाँगीले इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी, स्थानीय ३० वर्षीय नानक सिंह र पक्राउ गरिएका सरदार घाइते भएको जानकारी दिए ।
३० वर्षीय शिखको दायाँ खुट्टामा गोली लागेको डिएसपी डाँगीले बताए। फरार रहेका प्रतिवादी सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको छ।
घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।




प्रतिक्रिया