काठमाण्डु – मधेसका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार (भोलि) विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएको बेलामा विश्वासको मत लिन लागेका सिंह आफूले विश्वासको मत पाउनेमा विश्वस्त देखिन्छन् ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको नयाँ सरकार बनाउने सहमति भए पनि त्यसले मधेशको सत्ता राजनीतिमा परिवर्तन नआउने मुख्यमन्त्री सिंहको बुझाइ छ ।
मधेशमा एमालेसहितको समर्थनमा जनमतको नेतृत्वमा ६ दलीय गठबन्धन छ । गठबन्धनमा रहेका सबै दलको साथ पाउँदा सिंहले विश्वासको मत पाउन सक्छन् । मधेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।
सिंहले विश्वासको मत दिने एमाले मधेश प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए । ‘संघीय निर्देशन पनि त्यस्तै आएको छ । संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन गरिने छ’ महतोले भने ।
एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले अहिलेसम्म नयाँ गबठन्धनबारे पार्टीको निर्देशन नआएकोले प्रदेशमा वर्तमान गठबन्धन कायम रहेको बताए ।
कांग्रेस र एमालेबीच ३, ३ प्रदेश सरकारको नेतृत्व बाँडेर लिने र मधेशमा आफूहरूलाई सहयोग गर्ने मधेशकेन्द्रित दललाई सरकारको नेतृत्व दिने सहमति भएको छ । मधेशमा सरकार गठनका लागि कांग्रेस एमालेलाई थप ७ सिट आवश्यक हुन्छ ।




प्रतिक्रिया