जनकपुरधाम – मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भोलि शनिबार विश्वासको मत लिने भएका छन् ।
मधेश प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ ।
नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए । उनले भने, ‘संघीय निर्देशन पनि त्यस्तै आएको छ । संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन रहनेछ ।’
मधेशमा जनमत नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।
सरकारलाई ५५ जना सांसदको समर्थन छ । मधेश प्रदेशमा १०७ जना सांसद छन् ।
नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रीय गठबन्धनको निर्णयअनुसार नै प्रदेशमा सरकार बन्ने बताए ।




प्रतिक्रिया