काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री सचिवालयले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि दाहाल सिधै निजी निवास खुमलटार जाने तय भएको जानकारी दिएको छ ।
दाहालले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल ०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । त्यसपछि आज दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । कांग्रेसका ८८ र एमालेका ७९ मत जोड्दा १६७ हुने भएकाले दाहालले विश्वासको मत पाउने सम्भावना छैन ।
यसैबीच दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने तय भएको छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया