काठमाण्डु – प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि नयाँ गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वानको पर्खाइमा बसेका छन् ।
नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न नेपाली कांग्रेस, नेकपा एमाले सहितका दलले तयारी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा २ वा २ भन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिर बमोजिम संविधानको धारा ७६(२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गरे । सोही दलका नेता डा. प्रकाशशरण महतले आफूहरू एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको अवगत गराए ।
एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले २ दलको सहमति बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । प्रमुख सचेतक बर्ताैलाले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवतः शुक्रबारै वा शनिबारसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र आह्वानका आधारमा आफूहरू प्रक्रियामा सहभागी हुने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिमको अहिलेको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६(३) बमोजिम ठूला दलका नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुपर्ने आग्रह गरे ।
उनले ठूलो दलका नेता प्रधानमन्त्री बन्ने अवस्थामा त्यस्तो सरकारलाई आफ्नो दलले विश्वासको मत दिने तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएमा आफूहरू त्यसको विपक्षमा रहने जनाए । उनले प्रधानमन्त्री दाहाल अहिले राष्ट्रपति पौडेललाई भेट्न गएका जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले वर्तमान सरकारमा रहेर देश र जनताका लागि इमान्दार रुपमा काम गरेको र अबका दिनमा प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताए ।




प्रतिक्रिया