कांग्रेसको इतर समूहबाट डा.शेखर कोइराला र गगन थापा सरकारमा सहभागी नहुने

कांग्रेसको इतर समूहबाट डा.शेखर कोइराला र गगन थापा सरकारमा सहभागी नहुने

शेखर, उपसभापति धनराज गुरुङ र महामन्त्री थापालाई मन्त्री छान्ने जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने भएका छन् । नेता डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा दुवै नेताहरूले आफूहरू ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका हुन् ।

बैठकमा नेता अर्जुननरसिंह केसीले सरकारमा डा. कोइराला वा महामन्त्री थापाले कांग्रेसबाट सरकारको नेतृत्व गर्नुपर्ने बताएका थिए । त्यसपछि डा. कोइरालालेसरकारमा जाने आफ्नो रुचि नै नभएको बैठकमा जानकारी गराएका थिए ।

महामन्त्री थापाले पार्टीको जिम्मेवारीले गर्दा आफू सरकारमा जान सक्ने अवस्था नभएको बताएका थिए । ‘२०८२ सालमा महाधिवेशन गर्नुपर्ने छ । संगठनमा काम गर्नुपर्ने छ । सरकारमा जाँदा पार्टीको काममा असर छ,’ थापाले भनेका थिए, ‘संसद् भित्रबाट सरकारलाई सहयोग र उत्तरदायी बनाउने मेरो भूमिका हुन्छ ।’

डा. कोइराला र महामन्त्री थापाले आफूहरू सरकारमा सहभागी नहुने बताएपछि नेता केसीले नजाने हो भने आफूलाई पठाउन आग्रह गरेका थिए । ‘तपाईंहरु जानुहुन्न भने शीर्ष तहका आधारमा मेरो दाबी रहन्छ,’ केसीले बैठकमा भनेका थिए ।

बैठकमा नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवासँग पाँच मन्त्री फ्नो समूहले पाउनुपर्ने माग गरेको जानकारी गराएका थिए । बैठकले न्युनतम चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने निर्णय गरेको छ । सभापति देउवासँग छलफल गरेर संख्या टुंगाउन बैठकले नेता, शेखर, उपसभापति धनराज गुरुङ र महामन्त्री थापालाई जिम्मेवारी दिएको छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसले ९ मन्त्रालय पाउने सहमति भएको नेताहरू बताउँछन् । बैठकमा नेता कोइराला, उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा‍‍. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारीलगायत नेताहरू सहभागी थिए ।