सरकारमा जाने एमाले मन्त्रीहरूको ‘फाइनल लिस्ट’ तयार

सरकारमा जाने एमाले मन्त्रीहरूको ‘फाइनल लिस्ट’ तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एमालेले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार पार्टीले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । उनले यो ‘फाइनल लिस्ट’ नै भएको पनि बताए ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुंगो लागेको छ भने सरकारको प्रवक्ताको जिम्मेवारीसहित सञ्चारमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई बनाइएको छ ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउँदैछन् ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाउने एमालेको तयारी छ । रक्षा मन्त्रालय मानवीर राईले सम्हाल्ने भएका छन् । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । संघीय मामिलामा राजकुमार गुप्तालाई लैजाने एमालेको तयारी छ । यी नाममा लगभग सहमति जुटेको छ ।

विद्या भट्टराई मन्त्री बन्दा योगेश भट्टराईको नाम काटिएको छ ।

ओलीले प्रादेशिकरूपमा मन्त्री विभाजन गरेका हुन् । कोशीबाट मानबीर राई र देवेन्द्र दाहाल छन् भने मधेशबाट गुप्तालाई समेटेका हुन् ।

गण्डकीबाट पृथ्वीसुब्बा र विद्या भट्टराई, लुम्बिनीबाट विष्णु पौडेल र बलराम अधिकारी परेका हुन् । कर्णालीबाट एमालेका प्रत्यक्ष निर्वाचित सांसद छैनन् । यता सुदूरपश्चिमबाट दामोदर भण्डारी समेटिएका छन् । यी मध्ये दामोदर र बलराम यसअघिको सरकारमा समेत सहभागी थिए ।