काठमाण्डुको ढलमा देखियो पोलियो भाइरस

काठमाण्डुको ढलमा देखियो पोलियो भाइरस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ ।

स्वास्थ्य सेवा विभागले शुक्रबार आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले काठमाण्डुको टुकुचा खोला र बागमती नदीको संगमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए ।

२ नदीको संगमस्थलबाट संकलन गरिएको ढलको नमूनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा. गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो ।

नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

‘अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,’ उनले भने, ‘ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशंका छ ।’

खोप शाखा प्रमुख डा. गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्यान्डको बैंककमा ढलमा संकलन गरिएको नमूना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमूना संकलन भने गत जेठ १३ गते २ नदीको संगमस्थलबाट गरिएको हो ।

नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उनका अनुसार पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । ‘टुकुचा र बागमतीको संगमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाण्डु उपत्यकाबाट नै आएको हुनसक्छ,’ उनले भने ।

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु, ललितपुर र भक्तपुरमा पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोग विरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार खोप साउन ९ देखि १२ गतेसम्म २ लाख ८० हजार बालबालिकालाई खोप लगाइने छ ।

अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस संक्रमित नहुन भनेर खोप अभियान सञ्चालन गरिएको बताए ।