सिमलताल पहिरोमा हराएका यात्रुको खोजी गर्न भारतीय टोली परिचालन

सिमलताल पहिरोमा हराएका यात्रुको खोजी गर्न भारतीय टोली परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका २ बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ ।

भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।

खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये ४ जना गोताखोर रहेको बताए । शनिबार टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथाशक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए । धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए ।

सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका छन् । उनीहरूले ३ वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली ७ दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाण्डु जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डुबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको २ वटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।