दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भोलि आईतबार विश्वासको मत लिने भएका छन् ।
आईतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४औं बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका १० सांसद छन् । साना दल राप्रपा र नागरिक उन्मुक्तिका ४–४ जना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा २–२ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना सदस्य छन् भने १ जना स्वतन्त्र सदस्य छन् ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।




प्रतिक्रिया