सौहार्द बनेन प्रधानमन्त्री-सांसद प्रश्नोत्तर : ओली र माओवादी नेता पुनबीच सवाल-जवाफ

सौहार्द बनेन प्रधानमन्त्री-सांसद प्रश्नोत्तर : ओली र माओवादी नेता पुनबीच सवाल-जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच प्रश्नोत्तर चलिरहेको छ । ओलीले विश्वासको मत लिएपछि पहिलो पटक सुरु भएको प्रश्नोत्तरको पहिलो प्रश्नमै वातावरण सौहाद्र बन्न सकेन ।

प्रधानमन्त्रीलाई सुरुमा कांग्रेस सांसद धनराज गुरुङले प्रश्न सोधेका थिए । तर, ओलीले उनको प्रश्नको जवाफ दिने क्रममा प्रश्न भन्दा अन्य विषयमा बोल्न लागेका थिए । डेडिकेडेट र ट्रंक लाइनको विषयमा शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयको जवाफ दिएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका थिए ।

दाहालले प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युत्को महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर विषय राखेको आरोप लगाएका थिए ।

ओलीले सांसद गुरुङले सोधेको प्रश्न भन्दा पनि सांसद दाहालले शून्य समयमा उठाएको विषयमा बोल्न लागेपछि सांसद पुनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हो ? भनी पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्न निर्देशन दिएका थिए ।

पुनले प्रधानमन्त्रीले गालीगलोज गरेको भन्दै आपत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरेका थिए । त्यसपछि सभामुख घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए ।

सभामुखको निर्देशपछि प्रधानमन्त्री ओली सांसद गुरुङले सोधेको प्रश्नको जवाफ दिन लागेका थिए ।