सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्धित

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्धित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन्। आक्रामक ब्याटिङ र उपयोगी स्पिन बलिङका लागि परिचित उनी सुदूरपश्चिम रोयल्सका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्नेछन्। विशेषगरी तल्लो क्रममा छिटो रन बनाउने र मध्य ओभरमा विकेट निकाल्ने उनको क्षमताले टोलीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

समग्र टी–२० क्रिकेटमा एलेनको अनुभव अझ व्यापक छ। उनले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगितामा गरी १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले यस प्रारूपमा १०६ छक्का प्रहार गरिसकेका छन्।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। व्यक्तिगत कारणले सन् २०२२ को सुरुवातमा क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए।

त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सीमित अवसर पाए पनि एलेनले विभिन्न देशका फ्रेन्चाइज लिगमा आफ्नो उपस्थिति कायम राखेका छन्। उनले क्यारेबियन क्षेत्रसहित यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका टी–२० प्रतियोगितामा खेलेका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरे।

‘फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन्। उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ। विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न आफू उत्साहित रहेको बताए।

‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु। नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु। समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ उनले भने।

एलेनको अनुबन्धसँगै सुदूरपश्चिम रोयल्सले ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अनुभवी विदेशी खेलाडीलाई टोलीमा समेटेको छ।