काठमाण्डु- भारतको नयाँदिल्लीमा नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा तानिएका छन् ।
वाग्लेको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र नेकपा एमालेका नेताहरूले आपत्ति जनाउँदै राष्ट्रिय हितका विषयमा प्रश्न उठाएका छन् ।
नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए ।
‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ,’ वाग्लेको भनाइ थियो ।
उनको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलका नेताहरूले नेपाल(भारत सम्बन्धमा राष्ट्रिय हित, सार्वभौमिकता र नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारका विषय उठाएका छन् ।
उनीहरूले भारतसँग सम्मानजनक सम्बन्ध चाहनु र भारतीय नीतिका कारण नेपाललाई पर्ने असरबारे प्रश्न उठाउनु फरक विषय भएको तर्क गरेका छन् ।
थापाको आपत्ति : नेपाली राष्ट्रियताको अवमूल्यन
राप्रपाका नेता थापाले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको स्पष्ट पारेका छन् ।
‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा। स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन,’ थापाले भनेका छन् ।
थापाका अनुसार नेपालको राष्ट्रियता आफ्नो सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ । भारतसँग समानता र सम्मानका आधारमा सम्बन्ध कायम राख्नुपर्ने भए पनि सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोधी गतिविधि नभई राष्ट्रिय हितको पक्षमा उभिनु भएको उनको तर्क छ ।
उनले प्रश्न गरेका छन्, ‘हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँस तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो । के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ?’
थापाले सानो समूहका केही धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई भारतविरोधीका रूपमा प्रस्तुत गर्नु पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।
उनले वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको भनिएको ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन भन्ने प्रश्नसमेत उठाएका छन् ।
जिम्मेवार ओहोदामा रहेका अर्थमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र यस विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने थापाको माग छ ।
भट्टराईको प्रश्न : नेपालको हितमा बोल्नु भारतविरोध हो ?
नेकपा एमालेका सचिव डा. राजन भट्टराईले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर नेपालको राष्ट्रिय हितका विषय उठाउनेहरूलाई भारतविरोधी वा उग्र राष्ट्रवादी भन्ने प्रवृत्तिमाथि प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपालको हितका विषयमा बोल्दा भारतको विरोध गरेको अर्थ लाग्ने हो भन्दै वाग्लेलाई लक्षित गरेका छन् ।
भट्टराईले नेपालको दक्षिणी सीमामा भारतले निर्माण गरेका संरचनाका कारण वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने विषय उठाउनु भारतविरोध हो कि होइन भन्ने प्रश्न गरेका छन् ।
त्यस्तै, अलैँची, चिया र जुटलगायत नेपाली कृषिजन्य उत्पादन द्विपक्षीय सहमतिअनुसार भारतीय बजारमा निर्बाध रूपमा निर्यात हुनुपर्ने माग गर्नु, नेपालमा उत्पादित बिजुली भारतले खरिद गर्ने वातावरण बनाउनुपर्ने विषय उठाउनु र दुई देशबीचका असमान सन्धि–सम्झौता पुनरावलोकन गर्नुपर्ने माग गर्नु राष्ट्रिय हितको पक्षमा बोल्नु भएको उनको भनाइ छ ।
भट्टराईले भारतले आफूले रोजेको लगानीकर्ताबाट उत्पादित बिजुली मात्र खरिद गर्ने अडान सम्झौताअनुरूप नभएको विषय उठाउन नपाइने हो भन्दै प्रश्न गरेका छन् ।
सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको भूभागमाथिको दाबी प्रस्तुत गर्नु पनि भारतविरोध मानिने हो भन्दै उनले प्रश्न गरेका छन् ।
‘दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय कानुन, मूल्य, मान्यता र अभ्यासका आधारमा दुई स्वतन्त्र तथा सार्वभौम मुलुकबीचको सम्बन्ध अगाडि बढाऔँ र आफ्ना राष्ट्रिय मामिलामा निर्णय गर्ने अधिकार नेपाललाई नै हुनुपर्छ भन्नु कसैको विरोध गरेको ठहर्छ’, भट्टराईले प्रश्न गरेका छन् ।
उनले अन्य देशमा राष्ट्रिय हितका पक्षमा बोल्ने व्यक्तिलाई देशभक्तिपूर्ण अभिव्यक्ति दिएको मानिने तर नेपालमा त्यस्ता आवाजलाई भारतविरोधीको संज्ञा दिने गरिएको टिप्पणी गरेका छन् । वाग्लेको दिल्ली अभिव्यक्तिलाई पनि उनले यही प्रवृत्तिको निरन्तरताका रूपमा व्याख्या गरेका छन् ।
गोकुलको कडा टिप्पणी
एमाले नेता गोकुल बास्कोटाले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन् । उनले वाग्लेको भनाइलाई ुबौद्धिक ज्ञानको टाट पल्टाईु को संज्ञा दिएका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’
बास्कोटाको टिप्पणीले पनि नेपालमा राष्ट्रवादको परिभाषा र नेपाल–भारत सम्बन्धलाई हेर्ने दृष्टिकोणबारे राजनीतिक विवादलाई थप चर्काएको छ ।
वाग्लेको अभिव्यक्ति
वाग्लेको अभिव्यक्तिलाई लिएर उठेको विवादको मुख्य प्रश्न नेपालले भारतसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने मात्र होइन, राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर बुझ्ने पुरानो राजनीतिक भाष्यबारे पनि हो ।
नेपाल-भारत सम्बन्धमा सीमा विवाद, डुबान, व्यापार, पारवहन, विद्युत् निर्यात र सन्धि(सम्झौताका विषय लामो समयदेखि बहसमा रहँदै आएका छन् । यी विषयमा नेपालले आफ्नो राष्ट्रिय हितका पक्षमा अडान लिनुपर्ने आवाज उठ्दै आएको छ ।
अर्कोतर्फ, भारतसँगको सम्बन्धलाई केवल विरोध र अविश्वासका आधारमा परिभाषित नगरी पारस्परिक हित, सहकार्य र आर्थिक साझेदारीका माध्यमबाट अघि बढाउनुपर्ने धारणा पनि नेपाली राजनीतिक वृत्तमा रहँदै आएको छ ।
वाग्लेको भनाइलाई उनका आलोचकहरूले राष्ट्रिय हितका मुद्दालाई कमजोर बनाउने अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् ।
तर उनको अभिव्यक्तिको आशय नेपालले भारतसँगको सम्बन्धमा आफ्ना राष्ट्रिय सरोकार त्याग्नुपर्छ भन्ने हो वा भारतविरोधलाई राष्ट्रवादको अनिवार्य आधार मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने हो भन्ने विषयमा बहस केन्द्रित देखिन्छ ।


प्रतिक्रिया