काठमाण्डु – आईतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाण्डु उपत्यका मेयर्स फोरमले काठमाण्डु, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नकर्मी विक्रम संवत् २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विक्रम संवत् २०७९ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाण्डु उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । ‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिका लगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसूस भएको छ । उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डु उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।’




प्रतिक्रिया