रुकुम – मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युतको पोल ढाल्दा रुकुम पूर्वका नागरिक ४ दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका २ हजार ५०० ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभिए केन्द्रीय प्रसारण लाइनमा पर्ने ४ वटा पोल ढलेका छन् ।
‘हाम्रो टोली रानीकोटमै छ, सडक नखुलेको र पानी परिरहेका कारण लगातार पहिरो खसिरहेको छ । त्यसैले विद्युत् सेवा सञ्चालन गर्न हामीलाई समस्या भएको छ, सडक खुलेसँगै विद्युत् सेवा पनि सञ्चालनमा आउँछ,’ विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले भने ।
अहिले जिल्लाका ३ वटा पालिकामा रहेका प्राधिकरणको लाइन जोडेका ग्राहकहरू अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा विद्युत् प्राधिकरणबाट प्रवाह हुँदै आएको विद्युत् सेवा विस्तारलाई तीव्रता दिँदै आएको छ ।
पहिरोका कारण पोल ढलेर ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरूमा काम गर्न समस्या भएको छ । विद्युत् नभएका कारण जनजीवन प्रभावित भएको छ । मोबाइल चार्ज गर्न लगायत अन्य काम गर्न समस्या भएको छ ।




प्रतिक्रिया