काठमाण्डु –हरिबोल गजुरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव पद त्यागेका छन् । १४ साउनमा पार्टी पदाधिकारी बैठकमा पदबाट राजीनामा दिएको लिखित पत्र बुझाएको निकटस्थ स्रोतले जानकारी दियो ।
पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट भएका ६ मुख्य गल्ती औल्याउँदै लिखितरूपमा पेस गरेको गजुरेलको राजीनामा स्वीकृत नभएको निकटस्थ स्रोतले जानकारी दियो ।
राजीनामापत्रमा गजुरेलले पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरेका छन् । पार्टी बिग्रनुमा आफ्नो भागमा पर्ने नैतिक जिम्मेवारी लिन आफू तयार रहेको पनि गजुरेलले राजीनामा पत्रमा खुलाएको माओवादी केन्द्रीय कार्यालय स्रोतले बतायो ।
उनले आफ्ना कुरा स्थायी समितिमा राख्न पाउने अपेक्षासमेत राजीनामा पत्रमा गरेको बताइन्छ । माओवादीले २५ साउनमा स्थायी समिति बैठक बोलाएको छ।
राष्ट्रिय सभा अध्यक्षमा अध्यक्ष दाहालले भाइ नारायण दाहाललाई बनाएकोमा पनि गजुरेलले असन्तुष्टि व्यक्त गरेका छन् । नेताहरूलाई जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको आरोप लगाउँदै आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा १५ सदस्यीय पदाधिकारी बनाइनु पर्नेमा २१ सदस्यीय बनाएर विधि, पद्धति विधानको उल्लंघन गरिएको बताएका छन् ।
गजुरेलले यसअघि दाहाल प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट पनि राजीनामा दिएका थिए।
माओवादी नेताहरूले गजुरेलले राजीनामा दिएकोबारे प्रतिक्रिया दिन मानेनन् । पार्टी केन्द्रीय कार्यालयका कर्मचारीहरू नेताहरूलाई सोध्नुस् भनेर पन्छिए ।




प्रतिक्रिया