काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध देशव्यापी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
संयोजक प्रचण्डले सार्वजनिक गरेको अपिलमा ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै देशमा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको बताएका छन् ।
उनले महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेको बताए । जनजीविकाका आधारभूत प्रश्न झन् जटिल बन्दै गएको उनको निष्कर्ष छ ।
नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानलाई संगठन विस्तारमा मात्र सीमित नराखी सरकारका कामको समीक्षा, जनताका समस्या संकलन र लोकतान्त्रिक अधिकारको संरक्षणसँग जोडेको छ ।
लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको आरोप
संयोजक प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा बनेको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखिएको आरोप लगाएका छन् ।
बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।
‘नयाँ र पुरानाको कृत्रिम विभाजन’मार्फत सामाजिक घृणा बढाउने तथा नागरिकका राजनीतिक अधिकार संकुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको प्रचण्डले उल्लेख गरे ।
उनले यस्ता प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता र धर्मनिरपेक्षता सहितका उपलब्धि संस्थागत गर्न बनेको संविधानमाथि समेत खतरा उत्पन्न गरेको दाबी गरेका छन् ।
आफ्नै कमजोरी स्वीकार्दै जाने घोषणा
संयोजक प्रचण्डले आफ्नो पार्टीले विगतका कामको समीक्षा गर्दै गल्ती र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता पनि स्वीकार गरेका छन् ।
शान्ति प्रक्रिया, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पार्टीले निर्वाह गरेको भूमिकाप्रति गर्व गर्दै उनले जनताको विश्वास बलियो बनाउन व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार कम्युनिष्ट पार्टीको आधार मानिने किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको छ । पार्टी जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी बन्ने प्रवृत्तिको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
‘जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन’ भन्ने निष्कर्षसहित पार्टीले जनतासँगको सम्बन्धलाई थप व्यापक र परिणाममुखी बनाउने जनाएको छ ।
गाउँ, वडा र टोलसम्म पुगेर गुनासा संकलन गरिने
अभियानअन्तर्गत पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलसम्म पुग्नेछन् ।
किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, शिक्षक, कर्मचारी, बुद्धिजीवी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने अपिलमा उल्लेख छ ।
अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा ढिलासुस्ती, सुकुम्बासीका समस्या, श्रमिकका कठिनाइ र वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासा संकलन गरिनेछ ।
पार्टीले जनताका समस्या सम्बन्धित स्थानीय, प्रदेश र संघीय निकायसम्म पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि पहल गर्ने जनाएको छ । संकलित गुनासाको अभिलेख राख्ने र समाधानका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने अभ्याससमेत अघि बढाइने अपिलमा उल्लेख छ ।
भोटेकोशी बाढी उद्धारमा लापरबाही
संयोजक प्रचण्डले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज, उद्धार र राहतमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
विपद्का बेला नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्नुपर्ने बताएका छन् ।
आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक तथा अन्य सहयोग समयमै स्वीकार गरिएको भए थप नागरिकको जीवन जोगाउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
उनले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, विस्थापित परिवारको सुरक्षित पुन:स्थापना गर्न तथा सडक, पुल, खानेपानी, सञ्चार र विद्युत्लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
समाजवादलाई उत्पादन र रोजगारीसँग जोड्ने
नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानलाई समाजवाद निर्माणको आधार तयार पार्ने अभियानका रूपमा समेत प्रस्तुत गरेको छ ।
प्रचण्डले समाजवादलाई नारामा सीमित नराखी आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यका रूपमा व्याख्या गरेका छन् ।
राष्ट्रिय उत्पादन वृद्धि, कृषि तथा उद्योगको आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय विशेषताअनुसार श्रम र उत्पादनका गतिविधिमा सहभागी हुँदै जनतासँग जोडिनसमेत निर्देशन दिइएको छ ।
पार्टी संगठन सुदृढीकरण
राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम पूरा गर्ने लक्ष्य राखिएको छ ।
पार्टी तथा जनसंगठनका बैठक, भेला, प्रशिक्षण र अन्य कार्यक्रममार्फत संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालन गर्ने योजना पनि अघि सारिएको छ ।
प्रचण्डले नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, आलोचना सुन्न र आफ्ना कमजोरी सच्याउन आग्रह गरेका छन् । जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्ने उनको भनाइ छ ।
अपिलको अन्त्यमा नेपाली कम्युनिष्ट पार्टीले आम नागरिक, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेशागत समुदाय र निजी क्षेत्रलाई राष्ट्रिय हित तथा जनजीविकाका साझा सवालमा संवाद र सहकार्यका लागि आह्वान गरेको छ ।
पार्टीले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको संरक्षण, महँगी तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने, विपद् प्रभावितको पुन:स्थापना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई अभियानका प्रमुख नाराका रूपमा अघि सारेको छ ।


प्रतिक्रिया