काठमाण्डु – सुनसरीमा मोटरसाइकलसहित लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि प्रश्न उठेपछि सशस्त्र प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद लागूऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयासका क्रममा खिचिएको भिडियोको गलत व्याख्या गर्दै सुरक्षाकर्मीलाई दोषी देखाउने प्रयास भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका अनुसार गत कात्तिक ४ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोकनजिकैबाट लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले दिउँसो करिब २:३० बजे पूर्व–पश्चिम राजमार्गनजिक नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वतर्फ पार्किङ गरिएको अवस्थामा को १ ०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल फेला पारेको थियो ।
मोटरसाइकलका चालक फेला नपरेपछि सुरक्षाकर्मीले मोटरसाइकललाई त्यहाँबाट करिब १५ देखि २० मिटर दक्षिणतर्फ राजमार्गको दिशामा ल्याएर संयुक्त रूपमा जाँच गरेको थापाले बताएका छन् ।
५० भन्दा बढी स्थानीय भेला हुँदा विवाद
सुरक्षाकर्मीले मोटरसाइकल जाँच गरिरहेका बेला करिब ५० देखि ५५ जना स्थानीय भेला भएको र उनीहरूले ड्युटीमा बाधा पुर्याउँदै बरामद लागूऔषध लुट्ने तथा प्रमाण नष्ट गर्ने प्रयास गरेको सशस्त्र प्रहरीको दाबी छ ।
त्यस क्रममा भूइँमा खसेको कालो प्लास्टिकमा रहेको लागूऔषध सुरक्षाकर्मीले टिपेर मोटरसाइकल भएको स्थानमा राखेको थापाले बताए ।
उनका अनुसार यही घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसलाई गलत अर्थ लगाएर सुरक्षाकर्मीले नै लागूऔषध राखेर कसैलाई फसाउन खोजेको जस्तो भ्रम फैलाइएको हो ।
तर सामाजिक सञ्जालमा उठेका आरोपको स्वतन्त्र पुष्टि तथा घटनाको सम्पूर्ण भिडियो र अन्य प्रमाणको परीक्षणबिना कुनै पक्षको दाबीलाई अन्तिम निष्कर्ष मान्न सकिँदैन ।

के–के लागूऔषध बरामद भयो ?
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागूऔषध नाइट्राभेटका १० पत्ता, ट्रामाडोलका १६ पत्ता र अन्य लागूऔषधका ४ थान फेला परेका थिए ।
बरामद मोटरसाइकल र लागूऔषध आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।
भ्रम फैलाइएको प्रहरीको दाबी
सशस्त्र प्रहरीले जिल्लामा पछिल्लो समय लागूऔषध तथा तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय रूपमा परिचालित भइरहेको जनाएको छ ।
यस्तो अवस्थामा सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने र आमनागरिकमा भ्रम सिर्जना गर्ने उद्देश्यले घटनालाई अतिरञ्जित रूपमा प्रचार गरिएको सशस्त्र प्रहरीको दाबी छ ।
घटनामा लागूऔषध कसको थियो, मोटरसाइकल चालक को हुन् र सामाजिक सञ्जालमा उठाइएका आरोपमा कति सत्यता छ भन्ने विषयमा भने अनुसन्धान तथा उपलब्ध प्रमाणको परीक्षणबाट स्पष्ट हुनुपर्ने देखिन्छ ।


प्रतिक्रिया