राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बन – पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाण्डु र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन संकलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको ३ सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए ।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद १ वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी १८३ जनाको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको छ ।

नयाँ राहदानी बनाउन ६ हजारले अनलाइन आवेदन भरेकाले सोही संख्याको हाराहारीमा दरखास्त संकलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताए । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रह समेत गरे ।

‘अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आवश्यकता र कामको चाप हेरेर कन्सुलर सम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौं,’ श्रीसले भने ।

१० दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीमा विभागका २ र फ्रान्सस्थित नेपाली दूतावासका १ गरी ३ जना कर्मचारी सहभागी छन् ।

टोलीले अगस्त ११ तारिख (साउन २७ गते) सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर १ हप्तासम्म राहदानी सम्बन्धी सेवा प्रदान गरेको थियो ।