६० हजार नागरिक राप्ती नदीकाे उच्च जोखिममा, बस्ती जोगाइदिन माग

६० हजार नागरिक राप्ती नदीकाे उच्च जोखिममा, बस्ती जोगाइदिन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् ।

राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।

आज उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुगेका सङ्घीय सांसद सूर्य ढकालसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यस वर्ष तटबन्ध निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गरेका थिए ।

तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।

“विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, यादवले भने, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।” दुई वर्षदेखि निरन्तर तटबन्धको माग गर्दै आए पनि निर्माण कार्यमा कसैले चासो नदिएको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताए ।

उनका अनुसार पछिल्लो समय राप्ती नदीमा बाढी बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार भारी वर्षा हुनासाथ राप्ती नदीको बाढी गाउँ पस्ने खतरा बढ्दै गएको छ । आफ्नो क्षेत्रमा रहेको डुबानका समस्याबारे स्थलगत अवलोकनमा पुगेका बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेको बताए । खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

“अहिले ठूलो वर्षा भएकाले नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको छ”, सङ्घीय सांसद ढकालले भने, “नदीले तीव्र रुपमा कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।”

तटबन्धन निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् ।