नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शनिबार दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ।

उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार अभियान सञ्चालन गर्न लागिएको हो।

पार्टीद्वारा जारी सर्कुलरअनुसार अभियानको पहिलो चरणमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आधिकारिक निकायसमक्ष जनसरोकारका विषय समेटिएका मागपत्र र ज्ञापनपत्र बुझाइनेछ।

अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ता तल्लो तहसम्म पुगेर नागरिकका समस्या, आवश्यकता र माग सङ्कलन गर्नेछन्।

सङ्कलित मागलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी सम्बन्धित तहबाटै समाधानका लागि पहल गरिने नेकपाले जनाएको छ।

जनताका समस्या समाधान गर्न सम्बन्धित निकायलाई दबाब दिने, आवश्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने अभियानको उद्देश्य रहेको पार्टीले उल्लेख गरेको छ।

दुईमहिने अभियानमार्फत नागरिकका वास्तविक समस्या पहिचान गरी तिनको सम्बोधनका लागि राजनीतिक तथा प्रशासनिक तहमा पहल गर्ने नेकपाको तयारी छ।