आफूहरूलाई काम नदिएपछि कांग्रेस सहमहामन्त्रीहरूको असन्तुष्टि

आफूहरूलाई काम नदिएपछि कांग्रेस सहमहामन्त्रीहरूको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्रीहरुले पार्टी नेतृत्वले आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई काम दिन पनि आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा सहमहामन्त्रीहरूले पार्टीमा आफूहरूलाई कामको जिम्मेवारी नदिएकामा असन्तुष्टि जनाएका हुन् ।

कांग्रेसको विधानमा नै आफूहरूको काम, कर्तव्य र अधिकार उल्लेख नभएकाले उल्लेख गरेर जिम्मेवारी दिन आग्रह गरेका हुन् । नेपाली कांग्रेसको विधानमा अरु पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार उल्लेख भए पनि सहमहामन्त्रीहरूको छैन ।

पदाधिकारी निर्वाचित भएको दुई वर्ष भन्दा बढी भइसक्दा पनि सहमहामन्त्रीहरुको जिम्मेवारी नतोकिएकोले जिम्मेवारी तोक्न आग्रह गरिएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । कांग्रेसका विभिन्न ८ क्लस्टरबाट ८ सहमहामन्त्री छन् ।

सहमहामन्त्री यादवले आफूहरूको धारणाबारे भने, ‘सहमहामन्त्रीलाई अधिकार दिने बारेमा हामीले कुरा राख्यौं’, यादवले भने, ‘सबै सहमहामन्त्रीलाई अधिकार देऊ भनेर सबैले भनेका छौं । के गर्छन् थाहा छैन ।’

कांग्रेसको १४ औं महाधिवेशनमा महिलाबाट महालक्ष्मी उपाध्याय, मुस्लिमबाट फरमुल्लाह मन्सुर, थारुबाट उमाकान्त चौधरी, आदिबासी जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेशीबाट यादव, खसआर्यबाट किशोरसिंह राठोर, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भएका थिए ।

२३ साउनदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा बारे छलफल गर्न देउवाले सोमबार शीर्ष नेताको बैठक बोलाएका थिए । २०८० को ७ देखि १० फागुनसम्म भएको महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरु परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरेको थियो । तर पाँच महिनासम्म केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।