विदेशमा बसेर फेसबूक ह्याक गरी साइबर अपराधमा संलग्न १ व्यक्ति पक्राउ

विदेशमा बसेर फेसबूक ह्याक गरी साइबर अपराधमा संलग्न १ व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेशमा बसेर महिलाको फेसबूक ह्याक गरी साइबर अपराध गर्ने १ व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापामगर रहेका छन् ।

उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

थापाले पीडितको फेसबूक ह्याक गरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमानबीच भएका कुराकानी लगायत सामग्री संकलनपश्चात् नक्कली एकाउन्ट बनाई ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बताए ।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिई समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाण्डुमा मिसिल पेश भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइएको ब्युरोले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।