नेपालले भारतमा त्रिकोणात्मक शृंखलाको तयारी गर्ने

नेपालले भारतमा त्रिकोणात्मक शृंखलाको तयारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने भएको छ । सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घरेलु टोली क्यानडासँगै नेपाल र ओमानबीच हुने शृंखलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार टोलीले भारतमा कहाँ प्रशिक्षण गर्ने भन्ने अझैं टुंगो लागेको छैन । यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो ।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टोलीले फिटनेस प्रशिक्षण सुरु गरेको छ । टोलीले एक हप्ता नेपालमै फिटनेस प्रशिक्षण गर्ने लामाले बताए । त्यसपछि भने टोली भारत प्रस्थान गर्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका २२ मध्ये १६ खेलाडी प्रशिक्षणमा सहभागी छन । तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अलराउन्डर गुल्सनकुमार झा भारतमै प्रशिक्षण गरिरहेका छन् । उनीहरू व्यक्तिगत खर्चमा प्रशिक्षण गर्न भारत पुगेका हुन् । त्यसैले उनीहरू उतैबाट टोलीमा समावेश हुने छन् ।

कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा ग्लोबल ट्वान्टी– २० क्रिकेट लिग खेलिरहेका छन् । रोहित टोरन्टो नेसनल्समा आबद्ध छन् । दीपेन्द्र र सन्दीप भने भ्यानकुभर नाइट्समा छन् । लिग–२ शृंखला क्यानडामै हुने भएकाले यी तीन खेलाडीले उतैबाट टोलीमा समावेश हुने सम्भावना रहेको छ ।

यता, मुख्य प्रशिक्षक मोन्टी देसाईं भने आइसिसी ट्वान्टी–२० विश्वकप सकिएसँगै बिदामा बसेका छन् । समूह चरणको दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको थियो । उक्त खेल सकिएसँगै उनी अमेरिका बस्दै आएका छन् । उनी सीधै भारतमा हुने क्याम्पमा सहभागी हुने जनाइएको छ ।