काठमाण्डु – पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएकी छन् ।
नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमण सम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को साउन ३१ गतेको बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको ९औं वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ । बैठक आगामी असोज ९ र १० गते आयोजना गरिएको छ ।
लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोक सेवा आयोगका पदाधिकारीलाई स्वीकृति प्रदान गरिएको छ । कार्यक्रम आगामी असोज ५ देखि १५ गतेसम्म बेलायतमा आयोजना गरिएको छ ।
आगामी भदौ ५ देखि ९ गतेसम्म भारतमा आयोजना हुने आठौं अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिइएको छ ।




प्रतिक्रिया