काठमाण्डु-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले आजदेखि भदौ ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।
उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहे पनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुनेछ । दुई देशका विदेशमन्त्रीहरूबीच सोमबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकतामा भारतले राखेको संकेत गरे पनि प्रधाममन्त्री नरेन्द्र मोदीसँगको भेट भने अनिश्चित छ । तर भारतीय अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग भेटघाटको प्रबन्ध मिलाउने वचन दिएका छन् ।
मन्त्री राणाको भ्रमणको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै भारतको विदेश मन्त्रालयले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ ।
विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख छ । ‘भारतको छिमेक पहिलो नीति अन्तर्गत नेपाल प्राथमिक साझेदार हो‘ विज्ञप्तीमा भनिएको छ, ‘परराष्ट्रमन्त्री राणाको आसन्न भ्रमणले द्विपक्षीय सहयोगमा भएका प्रगतिबार छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत पुग्नेछ ।’
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरुले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख छ ।
यसैबीच, भारतले राणाको भ्रमणलाई औपचारिक स्वरुप दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री राणमार्फत् भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोपत्र पठाउने योजना बनाएका छन् ।
अघिल्लो हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीमार्फत् पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।




प्रतिक्रिया