काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भदौको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री निकट विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थालिएको छ । ‘भारत भ्रमणका क्रममा हुने द्विपक्षीय मुद्दा र एजेन्डाका विषयमा प्रधानमन्त्री कार्यालयले तयारी थालेको छ,’ स्रोतले भन्यो ।
परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको आन्तरिक तयारी सुरु गरेको छ । यद्यपी प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने निश्चित भएको छैन ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबारदेखि भारतको औपचारिक भ्रमणमा छिन् । उनले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मोदीसँगको भेटमा उनले प्रधानमन्त्री ओलीको सन्देश सुनाउनेछिन् र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने छिन् ।
यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए । निम्तोअनुसार परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा गएकी हुन् । प्रधानमन्त्री ओलीको भ्रमण भदौ तेस्रो साता हुने निकटस्थ स्रोतले जानकारी दियो ।
यसपटक प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण थाइल्यान्डबाट थाल्ने तयारी गरेका थिए । थाइल्यान्डको बैंककमा हुने भनिएको छैठौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली असोज २ गते त्यसतर्फ जाने तय भएको थियो । तर, थाइल्याण्डका प्रधामन्त्री स्रेथा चाविसिनलाई अदालतले पदमुक्त गरेपछि बिमस्टेक शिखर सम्मेलन अनिश्चित बनेको छ ।
थाइल्याण्डको राजधानी बैंककमा सेप्टेम्बर १८ र १९ मा सम्मेलन हुने तय भएको थियो । सम्मेलनमा प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलगायतका सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको थियो ।
नेपालको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले पनि थाइल्याण्डको विकसित राजनीतिक घटनाक्रमले बिमस्टेक सम्मेलन अनिश्चित बनेको बताए ।
यता, प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका जाने कार्यतालिका पनि छ । ओली असोज पहिलो साता संयुक्त राष्ट्रसभाको सम्मेलनमा सहभागी हुन अमेरिका पुग्ने र असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण अनिश्चित भएपछि सम्भवतः उनको पहिलो विदेश यात्रा भारतबाटै सुरु हुनेछ ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाट आफ्नो विदेश यात्रा थालेका थिए । तेस्रो पटक तीन महिनामात्र प्रधानमन्त्री हुँदा भने उनले कुनै पनि देशको भ्रमण गरेका थिएनन् । परराष्ट्रमन्त्री राणा स्वदेश फर्किएपछि मात्रै उनको भारत भ्रमणको मिति तय हुनेछ ।




प्रतिक्रिया