सहकारी छानबिन संसदीय समितिद्वारा २० जनासँग कारागारबाट झिकाएर बयान

सहकारी छानबिन संसदीय समितिद्वारा २० जनासँग कारागारबाट झिकाएर बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका २० जनासँग समितिको सिंहदरबारस्थित कार्यालयमा झिकाएर बयान लिएको छ ।

समितिले समस्याग्रस्त सहकारीसँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिने क्रममा सहकारीको रकम अपचलन गरेका, हिनामिना गरेका र सेवाग्राहीलाई भनेको समयमा आफूले बचल गरेको रकम नदिएको आरोपमा जेल र कारगारमा रहेकाहरूलाई समितिमा झिकाएर बयान लिइएको समितिका संयोजक एमाले सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गएको जेठ १५ गते एमाले सांसद सूर्य थापा संयोजक बनाएर तीन महिना समय पाएको समितिले जेल बाहिरका र भित्रका सहकारीसँग जोडिएकाहरूसँग बयान लिएको हो ।

कारागारभित्र बयान लिएकामध्य समितिले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती)लाई साउन २८ गते डिल्लीबजार कारागारबाट झिकाएर बयान लिएको थियो । त्यसैदिन सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इच्छाराज तामाङ र कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पनि डिल्लीबजार कारागारबाट झिकाएर बयान लियो ।

२९ साउनमा सूर्यदर्शन सहकारीका सचिव एवं गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल, पूर्वसञ्चालक शिवकुमार गुरुङ, पूर्वसञ्चालक एवं सफ्टवेयर डेभलपर भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको छ ।

३० साउनमा पोखराकै प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पोखराकै बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ, पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलसँग कास्की कारागारबाट झिकाएर बयान लिएको छ ।

३१ साउनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ओमप्रकाश गुरुङलाई भैरहवा कारागारबाट झिकाएर समितिले बयान लिएको छ । त्यसैदिन सुप्रिमकै पूर्वसचिव दिपेशकुमार पुन र बुटवलस्थित प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङसँग बयान लिएको छ ।

३२ साउनमा छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दियालगायत सहकारी संस्थाका सञ्चालक र अध्यक्ष नागेन्द्रबहादुर रिमाललाई चितवन कारागारबाट झिकाएर, ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं, ललितपुरकै मानभवनस्थित कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लीलाबहादुर गुरुङ र ललितपुरकै कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय र भक्तपुरको गट्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट झिकाएर समितिले बयान लिएको छ ।

त्यस्तै समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग बयान लिएको छ ।