नागढुङ्गाको पहिरो हटाएपछि सडक एकतर्फी खुल्यो

नागढुङ्गाको पहिरो हटाएपछि सडक एकतर्फी खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी उपत्यकाको प्रवेशद्वारा चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाण्डु आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारीसाधनलाई भित्र्याउन शुरु भएको छ । सवारीसाधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले बुधबार बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाण्डु नौविसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । ३ वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

‘कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाण्डु उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,’ उनले भने ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाण्डु भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।

नागढुङ्गा प्रहरीले काठमाण्डुबाट जाने सवारीसाधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारीसाधान ‘पिप्लामोड’भन्दा तल नै रोकिएका छन् । काठमाण्डु छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।