कांग्रेस–एमालेको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गर्‍यो : परराष्ट्रमन्त्री

कांग्रेस–एमालेको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गर्‍यो : परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन् । कांग्रेस केन्द्रीय सदस्य डा. राणाले केन्द्रीय कार्यसमिति बैठकमा नेपालमा कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको बताइन् ।

डा. राणाले भदौ २ देखि ६ गतेसम्म भारत भ्रमण गरेकी थिइन् । नेपाल र भारतबीचको आपसी सद्भाव अभिबृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी उनले केन्द्रीय समिति बैठकलाई गराइन् ।

भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।

मन्त्री डा. राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस. जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको जानकारी दिइन् ।

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनको भनाइ थियो । त्यस भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको जानकारी पनि उनले पार्टीलाई दिइन् ।

भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायतका विषयमा कुराकानी भएको जानकरी उनले पार्टीलाई दिइन् । भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरुको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायहरुद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि उनले बताइन् ।