मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, द्रूतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, द्रूतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले काठमाण्डु–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि करीब ३३ हजार ९७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुरसिमरा उपमहानगरपालिकामा करीब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्ने गरी हटाउने निर्णय पनि सरकारले गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने पनि सञ्चारमन्त्री गुरुङले बताए ।
विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालू आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
बैठकले भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुने ‘मल्टिडाइमेशनल पोभर्टी पियर नेटवर्क’सम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आगामी कात्तिक २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा आयोजना हुने ‘फस्र्ट ग्लोबल मिनिस्टियरियल कन्फेरेन्स अन इन्डिङ भाइलेन्स अगेन्ष्ट चिल्ड्रेन’मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
भदौ २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम २०२४’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा रुपन्देहीका डा. खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।