काठमाण्डु-भारतको केन्द्रीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आबुखैरेनीमा हिजो भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएकी छिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खड्से बिहान काठमाडौँ आएकी हुन् । उनी विमानस्थलबाट सिधै अस्पताल पुगेकी हुन् ।
आज बिहान नयाँदल्लीबाट काठमाडौं आइपुगेकी राज्यमन्त्री खड्से महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर दुर्घटनामा घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।
उनीसँगै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका छन् । बिरामीको अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले उपचारमा रहेका घाइतेमध्ये एक–दुई जनाको अवस्था गम्भीर रहेपनि अरुको उपचार राम्रोसँग भइरहेको बताए । मृतकको शव पठाउनेबारे छलफल भइरहेको पनि उनले बताए ।
यसैबीच दुर्घटनामा मृत्यु भएका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने छ । मृत्यु भएका २७ भारतीय पर्यटकहरुलाई लिन भारतीय एयर फोर्सको जहाज आउने बताइएको छ ।
मध्यप्रदेशका मुख्यमन्त्री एकनाथ सिन्दे र भारतका संघीय गृहमन्त्री अमित शाहबीच भएको छलफलपछि शव लिन भारतबाट भारतीय एयर फोर्सको जहाज काठमाडौं पठाउने निर्णय भएको भारतीय अखबार फाइलान्सियल एक्सप्रेसले जानकारी दिएको छ ।
जहाज दुर्घटना भएको क्षेत्रबाट नजिकैको विमानस्थल भरतपुर विमानस्थल भएको तथा पोस्ट मोर्टममा लगिएको अस्पताल आँबुखैरेनी अस्पताल भएकोले त्यहिबाट लास लाने नेपाली अधिकारीहरुको अनुमान छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा १६ जना घाइते छन् । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।




प्रतिक्रिया