काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू १४ वर्ष जेल बसेर यहाँसम्म आइपुगेको बताएका छन् ।
शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै उनले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका हुन् ।
उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा बस्नुपरेको थियो । गोलघरमा बस्नुपरेको थियो, नेल हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’
यस्तै उनले विदेश जाने प्रतिनिधिमण्डलमा महिला अनिवार्य हुनुपर्ने नियम अहिले बनाएको बताएका छन्।‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको डेलिगेसन (एक जना मात्रै बोलाएको छ भने बेग्लै कुरा) विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन,’ ओलीले भने, ‘डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ। त्यो रुल (नियम)अहिले मैले सरकारको बनाएको छु।’
उनले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र मुख्यसचिव आफ्नै कार्यकालमा महिला बनाएको दाबी समेत गरे।




प्रतिक्रिया