काठमाण्डु – कोशीमा कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन गाह्रो भयो भन्दै मन्त्रालय फुटाएर भए पनि पार्टीलाई ५ मन्त्रालय दिन गरेको आग्रह अस्वीकृत भएको छ । १२ साउनमा कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको थियो ।
तर, कांग्रेसले पार्टीभित्रको भागबण्डा मिलाउन गाह्रो भएको भन्दै मन्त्रालय फुटाएर भए पनि एक मन्त्रालय बढाइ ५ मन्त्रालय दिन आग्रह गरेको थियो । कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आफूहरूले एक मन्त्रालय बढाउन आग्रह गरेको बताएका थिए ।
मुख्यमन्त्री कार्कीले काठमाण्ड्ुबाट फर्किएपछि आइतबार विराटनगर विमानस्थलमा मन्त्रालयको संख्या नबढाउने बताएका छन् । काठमाण्डुमा कांग्रेस एमालेका शीर्ष नेतालाई भेटेर फर्किएपछि मन्त्रालय नबढाउने निष्कर्षमा आफू पुगेको बताए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताए । ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ’, उनले भने, ‘एक दुई दिनभित्रैमा मन्त्रिपरिषद विस्तार हुन्छ ।’
कांग्रेसमा संस्थापन पक्षका लागि २, नेता डा. शेखर कोइराला पक्षका लागि २ र नेता कृष्णप्रसाद सिटौला पक्षका लागि १ गरी ५ मन्त्रालय मागे पनि त्यो सफल हुन नसकेको हो ।




प्रतिक्रिया