काठमाण्डु-आज भाद्र कृष्ण पक्षको सप्तमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।
आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ । धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।
यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।




प्रतिक्रिया