एकीकृत समाजवादीमा खनालले छोडे भुसालको साथ

एकीकृत समाजवादीमा खनालले छोडे भुसालको साथ

केन्द्रीय समितिबाट पहिला पदाधिकारी चयन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)ले पहिले पदाधिकारी चयन गर्ने भएको छ । जारी केन्द्रीय समिति पहिले पदाधिकारी चयन गर्ने तयारी थालेको हो ।

आइतबारबाट सुरु केन्द्रीय समिति बैठकले पहिले पदाधिकारी चयन गरेपछि मात्रै स्थायी समिति र पोलिटब्युरो चयन गर्ने आन्तरिक तयारी गरेको एक नेताले जानकारी दिए । पदाधिकारी चयन प्रक्रियामै सहमति नजुटेकाले अन्य विषयका एजेण्डामा नै प्रवेश गर्न नसकिएको ती नेताले बताए ।

पार्टीभित्र गुटगत परिवर्तन आएपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो । फरक कित्तामा रहेका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एउटै समूहमा देखिएपछि महासचिव घनश्याम भुसाल एक्लिएका छन् । महाधिवेशनका बेलामा खनाल र भुसालले एउटै समूह बनाएर अध्यक्ष नेपाललाई अफ्ट्यारो पार्न खोजेका थिए । अहिले भुसाललाई छोडेर खनालले नेपालको साथ लिएका हुन् ।

खनाल– नेपाल मिल्दा पदाधिकारीका १८ पदमा सबै सहजै नेपालका हुनेछन् । केन्द्रीय समितिमा निर्वाचन गरे पनि ती पदाधिकारी निर्वाचित हुने भएकाले नेपाल निर्वाचनको पक्षमा उभिएका छन् । घोषित रूपमा नेपालले निर्वाचनको मत व्यक्त नगरे पनि आशय भने त्यस्तो देखिएको नेताहरू बताउँछन् ।

नेपालले निर्वाचनबाट पदाधिकारी चयन गरी भुसाल समूहबाट एक जना पनि पर्न नदिने रणनीति बनाएपछि चयनको प्रक्रिया नै सुरु हुन नसकेको निकट स्रोतले बतायो । केन्द्रीय समितिमा सदस्य चयन र पार्टीको निर्णय प्रक्रियामा भुसालले नेपाललाई क्रस गर्ने प्रयास गरेपछि नेपालले भुसाल समूहका नेतालाई पदाधिकारीमा आउनै नदिने रणनीति बनाएको बताइन्छ ।

खनालले भने केन्द्रीय समिति बैठकमा निर्वाचनबाट पदाधिकारी गर्न नहुने धारणा राखेका छन् । केन्द्रीय सदस्य नै सर्वसम्मतिमा चयन गरेकाले पदाधिकारी पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल र खनाल मिल्दा भुसाल समूह बढारिने अवस्था भएजस्तै खनाल र भुसाल मिल्दा नेपाल समूह बढारिने अवस्था छ । एकीकृत समाजवादीमा नेपाल र भुसालको समूह बलियो भएकाले खनाल समूह जता ढल्किन्छ, त्यतै बहुमत पुग्ने देखिएको छ ।

पार्टीमा अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मतिमा पुरानै टिम आएकाले पदाधिकारीमा पनि पुरानै टिमले निरन्तरता पाउनुपर्ने मत पनि बलियो देखिन्छ । अब वरिष्ठ उपाध्यक्षसहित १८ जना पदाधिकारी चयन गर्न बाँकी छ । वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमालले दाबी गरिरहेका छन् ।

सात जना उपाध्यक्षमा पनि पुरानै टिमका पदाधिकारी दाबेदार रहेका छन् । तर, यो पटक एसले एक जना महिला र एक जना दलित कोटाबाट पदाधिकारी बनाउने विधानमा व्यवस्था भएकाले नयाँ अनुहार आउने देखिन्छ ।