काठमाण्डु – थाइल्याण्डमा भदौ १८ र १९ गते हुने तय भएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ ।
थाइल्याण्डले सदस्य राष्ट्रहरूलाई पत्र पठाएर सम्मेलन स्थगित गरिएको जानकारी गराए पनि सम्मेलन हुने नयाँ मिति तय भइसकेको छैन ।
थाइल्याण्डले तोकिएको समयमा सम्मेलन नहुने भनेर जानकारी गराए पनि सम्मेलनको अर्को मिति कहिले भनेर उल्लेख नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अनियमितताको आरोपमा त्यहाँको संवैधानिक अदालतले बर्खास्त गरेपछि सम्मेलन स्थगित भएको हो ।
सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने तयारी भइरहे पनि सम्मेलन स्थगित भएसँगै ओलीको भ्रमण कार्यक्रम रद्द गरिएको छ । अब प्रधानमन्त्री ओली अमेरिकामा हुने युएनको महासभामा भाग लिन जाने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
सम्मेलन स्थगित हुनुको कारणमा थाइल्याण्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतलाई पनि आधार मानिएको बताइएको छ ।
मुख्य आयोजक देश थाइल्याण्डमा प्रधानमन्त्री थाविसिनलाई अनियमितताको आरोपमा त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
साउन ७ गते बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक भारतमा बसेको थियो । बैठकमा थाइल्याण्डका विदेशमन्त्री मारिस संगियाम्पोङसाले बैंककमा हुने शिखर सम्मेलन सफल बनाउन सबैमा आग्रह गरेका थिए । सम्मेलनको तयारी तीव्र रूपमा चलिरहेको थियो । थाइल्याण्डमा प्रधानमन्त्री परिवर्तन भएपछि बिमस्टेक सम्मेलन पनि प्रभावित भएको हो ।
यता, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
श्रीलंकामा सेप्टेम्बर २१ मा प्रधानमन्त्रीको चुनाव छ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।




प्रतिक्रिया