काठमाण्डु – नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा (माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्षी दलको नेता नचाहिएको भए जनार्दन शर्मालाई बनाउन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले प्रमुख प्रतिपक्षी दलको नेता पद संवैधानिक भएको र पहिलो र दोस्रो दल मिलेर सरकार बनाएपछि तेस्रो दलले स्वतः पाएको बताए ।
‘संविधान त पढ्नुहोस्, प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, खोजेर पाउने पद होइन। हामीले खोजेर पनि पाउने पद होइन। तपाईंलाई पनि दिएको होइन। तपाईंको दललाई दिएको हो। दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो दल प्रमुख प्रतिपक्षीमा स्वतः भएको हो। मन लाग्दैन भने तपाईंकै छेऊमा जनार्दनजी हुनुहुन्छ दिनुस् न उहाँलाई । चाहिँदैन हामीलाई। नभए अर्को दलको नेतालाई दिनुस्। यति ज्ञान त हुनुपर्यो नि,’ पन्तले भने।
मंगलबारको प्रतिनिधि सभामै प्रचण्डले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिन अनेक तर्कवितर्क गरिएको बताएका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी दलको नेता पनि सत्तापक्षलाई आफै राख्न भनेपछि सांसद पन्तले यसैको जवाफ फर्काएका हुन्।
‘प्रमुख प्रतिपक्षी दलको नेता हुने अनि यो पद पनि लैजाऊ भन्ने, प्रधानमन्त्री पद गएको यति किन औडाहा र छटपटी, चाहिँदैन सत्ता भन्नुहुन्छ। घरी यता, घरी उता गरेर यो संसदभित्र जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने कोरुतपाईं स्वयम् होइनरु तपाईंकै कारणले मुलुकमा अस्थिरता उत्पन्न भयो। तपाईंकै कारणले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कमजोर भयो। त्यसैले आफूतिर फर्किएर हेर्नुस्,’ पन्तले भने।




प्रतिक्रिया