रविसँग संसदीय विशेष समितिले लिएको बयान हो सफाइ होइन : गगन थापा

रविसँग संसदीय विशेष समितिले लिएको बयान हो सफाइ होइन : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिना सम्बन्धी संसदीय विशेष समितिले सफाइ दिएको नभइ बयान लिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले भने, ‘साथीहरू झुक्किनुभएको जस्तो लाग्याछ । बयान हो बयान, सफाइ होइन । फैसला त आउन बाँकी छ । म तथ्य प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’

उनले आफू छानबिन गर्न बनेको संसदीय समितिको निर्णय पर्खिरहेको बताए । थापाले प्रमाण खोई भन्ने रास्वपा नेताहरूलाई केही समय पर्खन आग्रह गरे ।

‘प्रमाण खोई भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य प्रमाण भएर त होला संसदीय समिति बनाएको । समिति लडेर बनाएको हो । टीओआर हामीले बनाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । त्यो प्रमाण हामीले समितिलाई दिएनौँ होला,’ थापाले भने, ‘तथ्य प्रमाण समितिमा पुगेको छैन होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ? ख्याल गर्नुभएन ९ मिनेटमा चैट भनेको ठाउँमा ९ घन्टा बयान दिनुपरेन ? तथ्य प्रमाण भएर आएको होइन होला ?’

संसदीय समितिमा रहेका रास्वपा सांसदलाई अफ्ठ्यारो रहेको हुनसक्ने बताउँदै थापाले भने, ‘रास्वपाका साथीलाई केही अफ्ठ्यारो पर्ला कि । कालोलाई सेतो कसरी भन्नु ? अलिअलि मैलो भए पनि कालो नै भन्नुपर्ला ।’

सहकारीको रकम हिनामिनामा संलग्न रहेको अरोप लागेपछि लामिछानेले समितिमा गएर बयान दिएका थिए । उनले तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कबाट सञ्चालनमा आएको ग्यालेक्सी टिभीमा रहँदा सहकारीको रकम अपचलन गरेको आरोप छ ।