काठमाण्डु-आज अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस नेपालमा पनि मनाइँदै छ ।
बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवसमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयुक्त राष्ट्रसङ्घ र एम्नेस्टी इन्टरनेसनलको सक्रिय भूमिकामा हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
दिवस मनाउने क्रमको सुरुआत ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । नेपालमा विगतमा भएको दशवर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएका थिए ।
सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । अन्तर्राष्ट्रियरूपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाले यसबारे विश्वव्यापीरूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिँदैआएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट भर्खरै पारित भइसकेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’मा कतिपय पीडितले असन्तुष्टि व्यक्त गरेका छन् । हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरिसकेका छन् । राष्ट्रपतिले प्रमाणित गरेपछि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१’ बनेको छ ।




प्रतिक्रिया