सुर्खेत-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व तत्काल परिवर्तन नहुने स्पष्ट पारेका छन् ।
सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै उनले राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने जनाए ।
सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने ‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन् । उपमहासचिव जनार्दन शर्माको प्रस्तावमा पनि त्यो छैन् । सधैं नेतृत्वमा बसिरहने रुचि पनि मेरो छैन् ।’
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने छैन, प्रचण्ड अध्यक्ष भन्दा माथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु ।’
आफू अध्यक्ष पदभन्दा माथि रहेको उल्लेख गर्दै उनले देश र दुनियाँले नेपालको ठूलो क्रान्तिकारी नेताको रूपमा आफूलाई स्वीकार गरिसकेको दाबी गरे । ‘अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यक छ’, उनले भने ।
उपमहासचिव शर्माले पार्टी बैठकमा राखेको प्रस्ताव फरक मत नभएको भन्दै उनले भने, ‘उहाँले पनि फरक मत नराखेको तर लिखित मत मात्रै राखेको हुँ भनिसक्नु भएको छ । त्यसलाई मैले सहज रुपमा लिएको छु ।’
दाहालले पार्टी नफुट्ने पनि बताए । ‘एकथरीले डिजाइन गरेर पार्टी फुट्दैछ भन्ने भ्रम छरेका छन्,’ उनले भने, ‘पदाधिकारी र स्थायी समिति बैठकमा खुलेर छलफल गरेर पार्टी फुट्छ भनेर जुन प्रचार गरियो त्यसलाई खारेज गरेका छौं ।’
माओवादी केन्द्रको काँधमा अहिले ठूलो जिम्मेवारी आएको र परिवर्तनको रक्षा गर्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए ।
भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको पनि अध्यक्ष दाहालले दाबी गरे । उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए ।
एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए ।




प्रतिक्रिया