माओवादी सुदूरपश्चिम दलका नेता धामीले चौथो पटक पनि मानेनन् प्रचण्डको निर्देशन

माओवादी सुदूरपश्चिम दलका नेता धामीले चौथो पटक पनि मानेनन् प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक निर्देशन दिँदा पनि पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन नहुने भएको छ । माओवादी सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले अध्यक्ष प्रचण्डले दिएको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले बिहीबार संसदीय दलका नेता मानबहादुर धामीलाई खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएपछि धामीको केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने जवाफ आएको हो ।

प्रचण्डको निर्देशनपछि प्रत्रकारहरूले सोधेको प्रश्नमा धामीले भने, ‘डाइरेक्ट निर्देशन त कसरी कार्यान्वयन गर्न सकिन्छ ?, दलको बैठक आह्वान भएपछि छलफल होला । तर, अहिले त बैठकसमेत आह्वान भएको छैन ।’

अहिले त प्रदेशसभा सदस्यहरूले दलको बैठक बोलाउन आग्रह नगरेकाले बैठक आह्वान नभएको, बैठक आह्वान भएपछि केन्द्रको निर्देशनबारे छलफल हुने र आवश्यक निर्णय हुने धामीले बताए । दलको नेता परिवर्तन गर्न प्रक्रियामा जानुपर्ने भएकाले समय लाग्ने उनको भनाइ थियो ।

१२ माघ २०८० मा माओवादी सुदूरपश्चिम संसदीय दलमा रहेका ११ सांसदमध्य बहुमत सांसदले खगराज भट्टलाई दलको नेताबाट हटाएर धामीलाई दलको नेता चयन गरेका थिए । भट्टलाई संसदीय दल नेताबाट हटाउन उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।

प्रचण्डले असार पहिलो साता सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई भट्टलाई दलको नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिए । त्यो निर्देशन पालना नभएपछि प्रचण्डले लिखित रूपमै भदौ २ मा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए । तर, प्रचण्डको पटक–पटकको निर्देशन धामीले कार्यान्वयन गरेका छैनन् ।