काठमाण्डु- एमालेले गण्डकी प्रदेश सरकारमा मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
मन्त्रालयको संख्या फुटाएर ९ बनाइए पछि एमालेले आज मन्त्रीहरूको नाम टुंगो लगाएको हो । गण्डकीमा एमालेबाट ४ जना मन्त्री बन्दैछन् ।
बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमालेले टुंग्याएको छ ।
संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । त्यसै अनुरुप मन्त्रिपरिषद्मा एमालेले नयाँ अनुसार पठाउन लागेको हो ।
एमालेले मन्त्रीको नाम दिने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । मन्त्री छनोटको मापदण्ड छैन । तर मन्त्री छान्दा भूगोल, जातीय क्लष्टर र लैंगिक हिसावले सन्तुलन मिलाइएको छ ।
कांग्रेस र एमालेबीच भएको सहमति अनुसार गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सहित कांग्रेस ५ र एमालेले ४ मन्त्रालय पाउने सहमति बनेको छ ।
कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा छन् ।
पाण्डेलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री र माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् । एमाले सरकारमा सामेल हुने भएपछि भइरहेका मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने सम्भावना छ ।
स्रोतका अनुसार एमालेलाई भौतिक पूर्वाधार, कृषि तथा भूमि व्यवस्था, स्वास्थ्य र वन तथा वातावर मन्त्रालय दिने तयारी छ । भौतिक मन्त्री मनाङेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा अब सामाजिक विकास मन्त्री मात्रै बन्नेछन् भने ऊर्जा मन्त्री देवकोटा र अर्थमन्त्री गुरुङलाई यथावत राखिने छ ।




प्रतिक्रिया