अज्ञात रोगका कारण ४ जनाको मृत्यु

अज्ञात रोगका कारण ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – अज्ञात रोगका कारण बाँकेको नरैनापुरमा एकै परिवारका ३ जना र १ बालकसहित ४ जनाको मृत्यु भएको छ ।

नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा ४ जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए ।

उनका अनुसार एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी १ वर्षकी नाबालिकाको भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।

‘सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ,’ परिवारको भनाइलाई उदृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भने, ‘झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौं । किनकि २ देखि ३ पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन ।’

उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिनअघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो । उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ ।

‘टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन् । पछि १–२ चोटी पातलो दिसा गरिन् । उनको उपचार चलिरहेको थियो तर उपचार चल्दै गर्दा हामीलाई छाडेर गइनँ,’ छोटेलालले भने ।

श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उनकी ठूलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो । ‘मेरो श्रीमतीको १४ गते मृत्यु भयो । भोलिपल्ट नै हामीसँगै बस्दै आउनुभएकी ७५ वर्षीया ठूलीआमा पनि श्रीमतीको जस्तै दुखाइका कारण मृत्यु भयो,’ उनले भने, ‘एकैपटक परिवारका २ सदस्य गुमाउनुको पीडा त छँदै थियो । भोलिपल्टै मेरो डेढ वर्षीया भतिजी नन्दनी पासीको पनि उस्तै लक्षणले ज्यान गयो ।’

३ दिनमा एकै परिवारका ३ जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाइले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए । उनका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो ।

उनले भने, ‘यो खबर आजै मात्र हामीले थाहा पायौं । थाहा पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौं ।’ नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रका अुनसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ । जसमा ७ जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ ।

नरैनापुरमा भएको घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण नेपालगञ्ज बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी सहितको टोली अनुगमनमा पुगेको थियो ।

अनुगमनपश्चात सीडीओ रिजालले नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् ।