काठमाण्डु – राजधानी काठमाण्डुको विष्णुमती नदीले मंगलबार साँझ खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ ।
‘काठमाण्डु जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।
जल ततथा मौसम विज्ञान विभागका अनुसार उपत्यका लगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । विभागका मोसमविद् प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिए ।
उनले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए । काठमाण्डु उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा मंगलबार वर्षा भएको थियो ।
नेपाल बाढी सूचनामा जनाइएअनुसार मंगलबार बिहान गौरीघाट जल मापन केन्द्रमा बागमती नदी सतर्कता तह आसपास आइपुगेको थियो । मंगलबारै साँझ सिन्धुलीस्थित कमला नदी पनि सतर्कता तह आसपास आइपुगेकाले सावधानी अपनाउन सूचना जारी भएको थियो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बुधबार पनि कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसमविद् मानन्धरले बताए ।




प्रतिक्रिया