काठमाण्डु – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रूपमा लुकाइछिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित २ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङको दिप्रुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाण्डु आएका समिरलाई करीब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औंठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार देवराजलाई करीब २५ ग्राम तौलको सुनको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थानसहित पक्राउ गरिएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया