काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ। बुधबार सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यालयमा बसेको सचिवालय बैठकले उपसभामुख रानाले हस्ताक्षर दुरुपयोग गरेको स्वीकार गर्दै स्पष्टीकरणको मौका भने दिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले अलि चाँडै अन्तर्वार्ताको समय दिन सक्छौ कि भनेर अनुरोध पत्रमा उपसभामुख ज्यूले गरेको हस्ताक्षर गलत भएको बताएका हुन् । उनले १८ महिनासम्म यो विषय लुकाएर राखिएको र राजनीतिक दाउपेचका लागि अहिले निकालिएको आरोप लगाए ।
‘कार्यक्रमको समय धेरै नजिक आइसकेको थियो। म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वार्ताको समय दिन सक्छौ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो, जुन गलत भयो,’ कार्यवाहक झाले भने, ‘त्यो सही थियो भन्न खोजेको होइन। त्यो दुरुपयोग भएको हो । त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर चाहिँ किन राखियो ?’
उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन पत्र लेखेकी थिइन्।
रानाको पत्रमा आफूसहित सबैका लागि कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेको तर, उनले अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गरेका व्यक्तिहरू त्यो कार्यक्रमसँग कुनै साइनो नभएका परेपछि विवाद भएको थियो ।
उपसभामुख स्वयःले आफ्नो लेटरप्याडमा अन्तर्वार्ताका लागि सिफारिस गर्नु पदीय मर्यादाविपरीत भएको जानकारहरूले बताउँदै आएका छन् । संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ ।
कार्यवाहक प्रवक्ता झाले उपसभामुखमाथि छानबिन हुनुपर्ने र स्पष्टीकरण दिन पाउनुपर्ने बताए। ‘व्यक्तिगत रुपमा इन्दिरा राना मगरमाथि हामीलाई गर्व छ,’ उनले भने, ‘हामीले त्यस्तो व्यक्ति त्यो ठाउँमा पुर्याउन सकिएको छ। २ वर्षपनि नपुग्दै उहाँलाई कसरी त्यहाँबाट झार्न सकिन्छ कि भनेर लागिएको छ।’
अहिलेसम्म औपचारिक रुपमा कुनै कदम सत्तारुढ दलहरूले अघि नसारेको भन्दै अहिले नै औपचारिक धारणा भने रास्वपाले बताएको छैन ।




प्रतिक्रिया