धनकुटा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरूसँग बुधबार भएको बैठकमा उनले २ ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्ने गरी गर्न निर्देशन दिए ।
‘उच्च मनोबलका साथ जनताको काम चाँडो सम्पन्न हुने गरी काम गर्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,’ उनले भने । वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न उनले आग्रह गरे । मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
जलस्रोत तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले कृषि र पर्यटनमार्फत धनकुटाको विकास सम्भव रहेको बताए । उनले यहाँका कृषि उत्पादनलाई बजारीकरण गर्न सके जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको विकास भए मात्र देशको विकास हुने बताए । उनले यहाँका बाँझो जग्गालाई सिँचाइ सुविधा पुर्याउन सके कृषिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यविक्रम पौडेलले धनकुटाको वर्तमान अवस्था र आगामी गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।




प्रतिक्रिया