काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदन छलफल नगरी पारित गरिने भएको छ । लामिछानेको प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा नराखी पारित गरिने भएको हो ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानले अपराह्न ४ः३० बजे राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसलगत्तै प्रतिवेदनमा छलफल नगरी निष्कर्ष प्रस्तुत गर्ने र भेला सक्ने कार्यतालिका छ।
विधान संशोधनका क्रममा लामो छलफल भएकाले सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची नभएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि राजनीतिक विषयवस्तुमा लामो छलफल भइसकेकाले प्रतिवेदनमाथि बोल्ने कार्यसूची नराखिएको झाले बताए ।
मंगलबारदेखि सुरू भएको राष्ट्रिय भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रस्ताव पेस गरेका थिए। सातै प्रदेशका समितिले प्रतिवेदन पेस गरेका थिए। भेलामा पार्टीको आय–व्यव विवरणसमेत प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया